कालिकोट जिल्लाको संक्षिप्त परिचय

कालीकोट जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलको पहाडी जिल्लाकोरुपमा अवस्थित छ। यस जिल्लाको कूल क्षेत्रफल १७४१ वर्ग कि.मी अर्थात १७८०३० हेक्टर रहेको छ। यो जिल्ला २९० ५” उत्तर देखि २९.०२८ उत्तर आक्षांस र ८१० २८” पूर्व देखि ८२० ०२” पूर्व देशान्तरमा पर्दछ। जिल्लाको कुल जनसंख्या १३०३५६ र घरपरिवार संख्या २११७९ रहेको छ। जसमा महिला ६५८३० र पुरुषको ६४५२६ देखिन्छ भने औसत परिवार संख्या ६.२६ , जनघनत्व ५९ व.कि.मी रहेको छ। ३० वटा गाविस रहेको यस जिल्लामा ९ वटा इलाकाहरु छन् भने एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वमा जुम्ला, पश्चिममा अछाम, उत्तरमा बाजुरा र मुगु तथा दक्षिणमा दैलेख र जाजरकोट जिल्ला पर्दछन् । जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि  कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीका गाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ । समशीतोष्ण हावापानी भएको यस जिल्लामा गर्मीयाममा अधिकतम तापक्रम १८.६०० से. सम्म र जाडो याममा न्यूनतम तापक्रम ५.६०० से. सम्म पुगेको पाइन्छ । यस जिल्लामा औषत ७३० मिली लिटर वार्षिक वर्षा हुने गरेको छ । समुद्री सतहबाट ७३८ मिटर देखि ४७९० मिटर उँचाई रहेको छ ।

शिक्षा : मानविय मुल्य एवं मान्यतालाई आत्मसाथ गरी आधुनिक प्रविधिवाट दैनिक कार्य सम्पादन गर्न सक्ने नागरिक तयार गर्नु शिक्षाको मुख्य उद्देश्य हो । तर्सथ सवै शैक्षिक प्रक्रियाहरुलाई आम नागरिक तथा बालबालिकाको दैनिक जीवनसँग तादत्म्यता राख्दै स्थानीय ज्ञान तथा आधुनिक ज्ञानको उपयुक्त सामायोजन गरी स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको जनशक्ति तयार गर्नु पनि गुणस्तरीय तथा उपलब्धिमूलक शिक्षाको मूल उद्देश्य हो । यसै उद्देश्य अनुरुप यस जिल्लामा पनि शैक्षिक संस्थाहरु संचालन हुँदै आएका छन् । खास गरी साक्षरता अभियान, अनौपचारिक शिक्षा, बाल विकास केन्द्र, प्राथमिक, निम्न माध्यामिक, माध्यामिक, उच्च माध्यामिक तथा क्याम्पस तहको अध्ययन कार्य लाई समेटिएका छन् । केवल एकमात्र क्याम्पस र पाँच वटा उच्च माध्यमिक विद्यालय भएको कालीकोट जिल्लामा अवश्य नै उच्च शिक्षा प्राप्तिका लागि अञ्चल सदरमुकाम जुम्ला लगायत छिमेकी जिल्लाहरू जुम्ला, दैलेख तथा सुर्खेतमा जानु पर्ने बाध्यता छ । यसको अलावा नेपालगञ्ज र देशको राजधानी शहर काठमाडौंसम्म पनि जानुपर्ने हुन्छ  । कुल साक्षरता दर ५८.९१ प्रतिशत छ । अझै पनि ४१.०९ प्रतिशत जनता शिक्षाको उज्यालो घामवाट वन्चित छन् । गाविसहरुको हकमा सबैभन्दा बढी साक्षरताको सङख्या कुल जनसङख्या ५०९६ रहेको फुकोट गाविसमा रहेको छ। त्यहाको कुल साक्षरता संख्या महिलामा १४०६ र पुरुषको सङख्या २१७२ गरी कुल ३५७८ छ भने कम साक्षरता कुल जनसङंख्या ३२२१ रहको मुम्रा गाविसमा रहेको पाईन्छ जहाँ महिलाका सङख्या १७८ र पुरुषको सङंख्या २३४ गरी केवल ४१२ जना मात्र शिक्षित देखिन्छन् । सबैभन्दा बढी जनसंख्या भएको सुकटीया गाविसमा निरक्षताको सङख्या महिलामा १३६ र  पुरुषमा ७१० रहको छ।

संचार : तीस गाउँ विकास समिति भएको यस जिल्लामा ३० वटै गाविसमा मोवाईल ( CDMA) सेवा पुगेको देखिन्छ भने ल्याण्ड लाइन २१५ लाइन मात्र सदरमुकाममा केन्द्रित रहेको छ भने मोवाइल सेवा अन्तर्गत १२५० GSM र २५०० CDMA को प्रयोग भएको पाइन्छ भने इमेल इन्टरनेटको लागिADSL सेवा संचालनमा आईररहेको छ । रेडियो नेपाललाई एफ एम स्टेशनवाट सजिलै सुन्न सकिन्छ भने नयाँ कर्णाली र चुलीमालिका सामुदायिक एफ एमहरु संचालन भैरहेका छन । स्थानीय स्तरबाट खाडाचक्र दैनिक पत्रिका पनि प्रकाशनमा आईरहेको छ।

सडक :  यस जिल्लाका प्रमुख सडकमा सुर्खेत-कालीकोट कर्णाली राजमार्ग पर्दछ जसको लम्वाई २२३ किलोमिटर छ । यस सडकले मान्म, भतार्,फोइमहादेव, दाहा, पाखा, छाप्रे जुविथा, राचुली गाउ विकास समितिहरुलाई छोएको छ । सुर्खेतको बाङ्गेसिमलबाट शुरु भई सोतखोला २४ किमि,बडीचौर २६ किमि, स्याउले ४० किमि, तल्लो डुङगेश्वर ६४ किमि, पादुका ८३ किमि, रामाघाट ९४ किमि, असाराघाट ९९ किमि, राकम ११८ किमि, मान्म १३० किमि पिली १७३ किमि, नाग्म १९५ किमि, तातोपानी २१७ किमि, जुम्ला खलंगा २३३ किमिमा पुगेर टङ्गिन्छ। कर्णाली राजमार्गको यस जिल्लाको प्रवेश बिन्दु भर्ता गाविस हो भने अन्तिम बिन्दु फोइमहादेव गाविस हो । यो राजमार्ग समुद्र सतहबाट २००० मीटर उचाईमा रहेको छ । यस जिल्लावाट हवाई सेवाका लागि नजिक बाजुराको कोल्टी  र जुम्लाको जुम्ला विमानस्थल हो जहा पुग्न पैदल ३ दिन लाग्छ भने सवारी साधनबाट १ दिन लाग्छ । जुन सडक वर्षायाममा भरपर्दो छैन ।

कुषि, वन, पशु सम्बन्धी विवरण : यस जिल्लाको आधा भन्दा बढी भू-भाग ६१.४०% (१११०९०.१३ हेक्टर) वन क्षेत्रले ढाकिएको छ भने चरन क्षेत्र २५.२७%(४५००० हेक्टर) र अन्यमा २.०३% (३६१४.०१ हेक्टर) क्षेत्र पर्दछ । यसरी हेर्दा कूल क्षेत्रफलमा केबल १८०८७.८० हेक्टर (१०.१६%) जमिन मात्र आवादी तथा खेतीयोग्य छ । यस जिल्लामा बार्ह्रै महिना सिचाई सुविधा पुग्न सक्ने संभावना न्यून देखिएको छ केवल १५४१.३५ हेक्टर जमीनमा मात्र बाह्रै महिना सिंचाई सुविधा उपलब्ध भएको पाइन्छ भने अझै १२४३४.३८ हेक्टर जमीनमा सिंचाईको व्यवस्था गर्न बाँकि रहेको छ । यसतर्फ समयमानै जल उपभोक्ता समिति लगायत स्थानीय निकाय र नेपाल सरकारको ध्यान पुग्नु अति आवश्यक देखिन्छ ।  यस जिल्लाका वासिन्दाहरू ९० प्रतिशत भन्दा बढी कृषि पेशामा आधारित छन् । ७० प्रतिशत जनताको भागमा ० देखि ५ रोपनी सम्म मात्र सिंचित जग्गा पर्दछ भने त्यसमध्ये ७७ प्रतिशत असिंचित क्षेत्र पर्दछ । यसका साथै ९० प्रतिशत भन्दा बढी जनसंख्याले खाद्य अभाव (Food Deficiency ) का कारण भोकमरीको समस्या झेल्नु परिरहेको छ । यस जिल्लामा बाली लगाएको क्षेत्रफलमा सबभन्दा बढी गहुँ ४८०० हेक्टर छ भने उत्पादन पनि अरु बाली भन्दा बढी नै हुने गरेको पाइन्छ । क्षेत्रफलको हिसाबमा धान दोश्रोमा पर्दछ भने उत्पादनको हिसावले मकै दोश्रो स्थानमा पर्दछ । जस अनुसार मकै १७३० हेक्टरमा वार्षिक २५९० मेट्रिक टन उत्पादन हुन्छ भने धान २०८० हेक्टरमा २२२५ मेट्रिक टन उत्पादन हुने देखिन्छ । जौ, कोदोको अवस्था पनि राम्रो नै रहेको देखिन्छ । त्यसै गरी दलहन, अदुवा, खुर्सानी, वेसार, आलु,मौसमी र वेमौसमी तरकारी लगायत अन्य फलफूलको उत्पादन पनि राम्रो नै भएको पाईन्छ । यस जिल्लामा फलफूल बालीका रुपमा पनि निकै उपयुक्त खाले हावापानी रहेको पाइन्छ: खासगरी स्याउ, सुन्तला, कागती र ओखर यस जिल्लाका प्रमुख फलफूल मानिन्छन् । फलफूलमा सबैभन्दा बढी स्याउनै कालीकोट जिल्लामा उत्पादन भएको पाइन्छ । करिब ४०५ हेक्टर जमिनमा वार्षिक ३०६ मेट्रिक टन स्याउ यस जिल्लामा उत्पादन हुने गर्दछ । त्यसै गरी दोस्रोमा कागती पर्दछ । जुन कुल ३६२ हेक्टर जमिनमा वार्षिक उत्पादन  १३२ मेटि्रक टन उत्पादन हुने गर्दछ । उत्पादनका हिसाबले कुल ३०५ हेक्टर जमिनमा ९६.७ मेट्रिक टन वार्षिक उत्पादन सुन्तला तेश्रो स्थानमा रहेको देखिन्छ भने ओखर पनि राम्रै उत्पादन हुने तथ्यांकबाट देखिन्छ । पशुपालनलाई सहायक पेशाको रुपमा गणना गरिने भएता पनि कृषि व्यवसाय अवलम्बन गर्नेहरुका लागि नभई नहुने पेशा हो । जसको प्रत्यक्ष सम्बन्ध कृषिमा रहेको हुन्छ । खासगरी घना जंगल र घाँसे मैदान रहेको कालीकोट जिल्लामा पशुपालन व्यवसायले राम्रो स्थान प्राप्त गर्न सक्दछ । आर्थिक सम्पन्नतामा पनि यस पेशाले दरिलो भाग ग्रहण गर्न सक्दछ । कालीकोट जिल्लाका सबै गाविसहरुमा पशुपालनलाई व्यवसायकै रुपमा अंगालेको पाइन्छ । कालीकोट जिल्लामा घरपालुवा जनावरहरु मध्ये गाई, गोरु, भैसी, भेडा, जस्ता जनावर पालेको पाईन्छ जसबाट खेतीको लागि गोवर मल, आय आर्जनको लागि दूध,उनी, र सामान ओसार पसार गर्नको लागि घोडा र खच्चर पालेको पाईन्छ ।

पर्यटकिय क्षेत्रको विवरण :  यस जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा निर्मित), चुलीमालिका मन्दिर  (मान्म, पाँखा र वदालकोट बीच) तिला गुफा, (रांचुली) ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली,  रामारोशन, पचाल झरना, फुगाड झरना, पचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्वपूर्ण मानिन्छ । यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सर्म्वर्द्धन गरी वाह्य र आन्तरिक पर्यटनलाई आर्कषण गरी पर्यटकिय क्षेत्रकोरुपमा विस्तार गरे यस जिल्लाको आय आर्जनमा टेवा पुगि गरिवी निबारणमा सहयोग पुग्ने देखिन्छ । जसको लागि विभिन्न तह र तप्कावाट प्रचार प्रसार गर्न आवश्यक छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरि विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरु मार्फत पनि पर्यटकलाई यस जिल्लामा भित्राउन सकिने प्रवल संभावना देखिन्छ ।

उद्योग र्फमको विवरण : घरेलु तथा साना उद्योग विकास समिति कालीकोटबाट उपलब्ध गराइएको तथ्याङ्क अनुसार यस जिल्लामा संचालित उद्योग तथा फर्मको संख्या ४८ छ भने निर्माण सेवाको संख्या जम्मा ५५ वटा पाईन्छ भने ब्यापार ब्यवसायको संख्या ९० रहेको देखिन्छ ।

मुख्य नदी र उर्जाको स्थिति : जल भण्डारको दृष्टिकोणले कालीकोट जिल्लालाई अब्वल श्रेणीमा राख्न सकिन्छ । चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा पर्ने राक्षसतालबाट बगेर आउने नेपालकै सवैभन्दा लामो नदी कर्णाली यस जिल्लाको बीच हुँदै बगेको छ । यस बाहेक तीला पनि प्रमुख नदीकोरुपमा मानिन्छ । साना साना खोलाहरू पनि प्रशस्त छन् । जसलाई प्रयोगमा ल्याउन सके जिल्लाले १४८० किलोवाट सम्म विद्युत निकाल्न सकिने सर्वेक्षणबाट देखिएको छ भने मुम्राको ५०० किलोवाट वाट जिल्लाको सदरमुकाम सहित ७ गाविसमा वत्ति बलेको छ । चिल्खाया गाविसमा २५ किलोबाटको साना जलविद्युत आयोजना संचालन रहेको छ भने ओदानकु साना जलविद्युत आयोजनावाट पनि त्यस गाविसका जनताले वत्ति उपभोग गर्न पाएका छन । कर्णाली नदी र तिला नदीवाट ठूला जलविद्युत आयोजना संचालन गर्न सक्ने प्रवल संभावना देखिन्छ । यस जिल्लामा सदरमुकाम र केहि गाविसहरुमा सौर्य प्रणालीबाट सिमित ब्यक्तिहरुले प्रयोग गरेको पाइन्छ भने खाना पकाउने ग्यास र मट्टतिेल थोरै जनसंख्याले मात्र उपयोग गरेको छन् भने प्राय दाउरा नै प्रयोगमा ल्याएको पाईन्छ भने केहि संघ संस्थाहरुको सहयोगमा सिमित ब्यक्तिहरुले गोवर ग्यास प्लान्ट पनि प्रयोगमा आएको देखिन्छ।

स्वास्थ्य स्थिति : स्वास्थ्य क्षेत्रमा पनि यस जिल्लाको अवस्था कमजोर नै पाइन्छ । कुल १५ शैय्याको एकमात्र अस्पताल भएको कालीकोट जिल्लाको अन्तरसम्बन्ध अन्य नजिकको जिल्लामा बढी हुनु अस्वभाविक होइन । प्रति चिकित्सक जनसंख्याको अनुपात ३५१९३ रहेको जिल्लाले चिकित्सकको सेवा लिन पनि जुम्ला तथा सुर्खेतका साथै नेपालगञ्ज धाउनु पर्ने वाध्यता छ । कुल १३२५९३ जनसंख्या रहेको कालीकोट जिल्लामा जनसंख्याको अनुपातमा जिल्ला भित्र कार्यरत स्वास्थ्य संस्थाहरुको विवरण निकै कमी रहेको अनुमान सजिलैसंग गर्न सकिन्छ । कालीकोट जिल्लामा केवल १५ शैयाको एक मात्र अस्पताल भएको तथ्यांकले देखाउछ । यसै गरी स्वास्थ्य चौकीको संख्या ९ छ भने उपस्वास्थ्य चौकीको संख्या १९ रहेको छ । कालीकोट जिल्लाको स्वास्थ्य अवस्थामा व्यापक मात्रामा सुधार गर्नु पर्ने देखिन्छ । कालीकोट जिल्लामा स्वास्थ्यको स्थिति हेर्दा अधिकांश गाविस हरुमा सुत्केरी महिलाहरुलाई खोप (प्राप्त तथ्याङकको आधारमा) आवश्यकता अनुसार दिने गरेको पाईएन । अधिकांश महिलाहरु आफ्नै घरमा कुनै सहयोगी वा सुडेनीको सहयोगमा सुत्केरी गराउने प्रचलन रहेको छ । बाल स्वास्थ्यको सर्न्दभमा भने चेतनशिलाताका कारण बालबालिकाहरुलाई यथा समयमा खोप दिने गरेको देखिन्छ ।

भू-वनोट :  कालीकोट जिल्लाको पहाडी श्रृङ्खलाको भिरालो जमीनमा पनि खेती गरेको देखिन्छ । गह्रा नबनाई वनफडानी गरी भिरालो जग्गामा खेती गर्ने प्रवृत्ति, जथाभावी रुख काट्ने गरेको कारणबाट यस क्षेत्रमा बढी भू-क्षय र भू-स्खलन हुने गरेको छ । भू-क्षय हुने ठाँउहरूमा खास गरेर कर्णाली नदी तटका गाविसहरू, तीला नदी किनाराका वस्तीहरू लगायत साना खोलाहरूको छेउछाउ पर्दछन्  । वर्षोनी नदीहरूले ठूलो मात्रामा जमिन कटान गरी धनजनको क्षति गर्ने गरेको उदाहरणहरू पनि यस जिल्लामा प्रसस्त पाइन्छन् ।

(क)   उत्तरी क्षेत्र : पहाडी भू-भाग रहेको यस क्षेत्रको माटोमा मसिना बालुवा, ढुङ्गा, फुस्रो रातो माटो पाईन्छ  । यसप्रकारको माटोमा फलफूलमा सुन्तला,मौसम तथा अन्नमा मकै, फापर, कोदो, जौ आदि फस्टाएको पाईन्छ । यहाँका चट्टानहरू कमजोर ( Fragile) छन् र तिनीहरु Stone र Conglomerates ले बनेका छन् ।

(ख)    मध्य क्षेत्र :  यो क्षेत्र (पहाडी भू-भागका फेद अर्थात चुरेको फेद) मा ग्राभेल, बालुवा, फुस्रो, रातो हल्का दोमट तथा अलि चिम्टाइलो किसिमको माटो पाइन्छ । अदुवा, फाफर, गहुँ, धान र फलफूलमा निवुवा, कागती आदि यहाँ फस्टाएको पाइन्छ र यस क्षेत्रको माटो साधारणतया Sandy Loam रहेको छ ।

(ग)    दक्षिण क्षेत्र : अलि अलि समथर भू-भागमा रहेको यस क्षेत्रमा चिम्टाइलो, बलौटे, दोमट, सवै किसिमको माटो पाइने हुनाले उर्वरा शक्ति राम्रो छ । यद्यपि यस क्षेत्रको माटोमा हल्का अम्लीय पन भएको पाइएको छ तापनि उर्वरा शक्तिमा त्यति असर परेको छैन । अधिकांश सिंचाई सुविधा रहेको यस क्षेत्रमा जमीनको उत्पादन क्षमता ज्यादै राम्रो छ । यहाँका प्रमुख बालीमा धान, मकै, कोदो, गहुँ तथा नगदे बालीमा तोरी, केरा आदि छन् ।

 


Skip to toolbar